Public Administration

नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकता

2024-05-13 03:35:53
Share On Social Media :
नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकता
               नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकतालाई उच्च महत्व दिईएको पाइन्छ । नेपालको निजामती सेवाका विभिन्न पदहरूमा प्रवेशको न्यूनतम योग्यता तोकिएको छ । नियुक्तिका प्रक्रिया, क्षमता विकास र अवकासका प्रक्रियाहरू समेत पूर्वनिर्धारित छन् । निरन्तर ज्ञान र सीपको विकासको महत्वलाई आत्मसात गरी सेवाकालीन तालिमको समेत व्यवस्था गरिएको छ । निजामती सेवा ऐन, २०४९ ले निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरणहरूको व्यवस्था गरेको छ । यी आचरणहरूको पालनाले कर्मचारीहरूमा व्यावसायिकताका आधारभूत मूल्यहरू जस्तै पारदर्शीता, उत्तरदायित्व, पेशाप्रतिको पूर्ण प्रतिबद्धता, कानूनको अनुपालना र तटस्थ भई काम गर्न सक्ने सीपको विकास गर्न सघाउ पुर्याउदछन् । ऐनले माथि उल्लेखित आचरणका अतिरिक्त निजामती कर्मचारीको लागी अन्य आचरण पनि तोकेको छ साथै निजामती सेवालाई पूर्ण व्यावसायिक बनाउन, यसमा आबद्ध कर्मचारीलाई अनुशासित, मूल्यमा आधारित पेशागत उत्कृष्टता भएका र सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६९ तर्जुमा गरिएको छ ।
सार्वजनिक प्रशासनमा व्यावसायिकताको आवश्यकता 
  1. गुणस्तरीय सेवा प्राप्त गर्र्ने नागरिक अधिकारको सम्मान र संरक्षण र सुनिश्चितता गर्न 
  2. राष्ट्र र जनताको वृहत्तर हित कायम गर्दै सार्वजनिक प्रशासनप्रतिको जनविश्वासलाई प्रवर्तन गर्न
  3. कर्मचारीको कार्यसम्पादन स्तरलाई उच्च बनाउन नतिजामुखी कार्य संस्कृतीको विकास गर्न सार्वजनिक प्रशासनलाई जनमुखी र नतिजामुखी बनाउन 
  4. कर्मचारीमा पेस“गैत आचरण र नैतिकता विकास गर्न 
  5. राजनीतिक तटस्थता र स्वतन्त्रता कायम गर्न
समस्याहरू

1. राज्यद्वारा स्थापना भएका विभिन्न सार्वजनिक निकायहरूको कार्य क्षमता अभिवृद्ध गर्दै जनताको माग र आकांक्षा बमोजिम सेवा प्रवाहमा प्रभावकारीता र सुशासनको प्रत्याभूति गर्न बजारमा रहेका क्षमतावान, अब्बल, मेधावी र जेहेन्दार जनशक्तिलाई निजामती सेवामा आकर्षण गर्न नसक्नु 
2. कर्मचारीको कुन क्षेत्रमा राम्रो दक्षता रहेको छ सो अनुरुप सरुवा तथा पदस्थापन हुन नसक्नु जस्ले गर्दा कर्मचारी आत्मा देखि नै सन्तुष्टि लिंदै काम गर्न नपाउँदा कर्मचारीको कार्य क्षमतामा ह्रास आएको र सार्वजनिक निकायबाट प्रभावकारी सेवा प्रवाह हुन नसक्नु 
3. निजामती सेवाको विभिन्न समूह र उपसमूहमा वृत्ति विकासको लागि समान अवसर नहुनु र व्यावसायिकताको लागि सामान्य र विशेषज्ञ किसिमको तालीम आवश्यक पर्न सक्दछ तर निजामती सेवा अधिकांश तालीम सामान्य तालीमको बाहुल्यता रहनु 
4. व्यावसायिकता के हो ? व्यावसायिकता किन आवश्यक पर्दछ ? यसको विकास कसरी गर्ने ? भन्ने बारेमा राज्य र सम्बन्धित संगठनले प्राथमिकताकासाथ नीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्न नसक्नु र संगठनमा व्यावसायिक संस्कृतिको विकास हुन नसक्नु 
5. एकै प्रकारको काम वा जिम्मेवारी सामान्य ज्ञान, सीप भएकोबाट सम्पादन गर्दा र व्यावसायिक क्षमता र दक्षता भएकोबाट गराउँदा कार्यको गुणस्तर, कम खर्चमा सम्पादन हुने विषयमा अझै राज्य र संगठनको ध्यान नदिई परम्परावादी शैलीमा नै प्रशासन सञ्चालन गर्दा संगठनले लक्ष्य पूरा गर्न नसक्नु 
6. समय र विज्ञान प्रविधिको कारण सार्वजनिक प्रशासन प्रतिस्पर्धीको अवस्थामा रहेको छ त्यसको सामना गर्न उच्चस्तरको योग्य कर्मचारी आवश्यक पर्दछ तर सो अनुरुपको जनशक्ति उपलब्ध नहुनु र भए पनि न्यूनतम स्रोत साधन र कार्यवातावरणको अभावका कारण उपयोग गर्ने वातावरण नहुनु 
7. राम्रो काम गर्नेलाई तत्काल पुरस्कार र गलत र जिम्मेवारी पूरा नगर्नेलाई सजायको व्यवस्था नगरिनु र व्यावसायिकताको आधारमा पदोन्नति र पदस्थापन जस्ता विषयले प्राथमिकता नपाउनु 

सुझावहरू 
1.  प्रजातान्त्रिक प्रणालीमा समाजमा रहेका महत्वपूर्ण मूल्यमान्यता, खुलापन, सामाजिक परिवर्तनका लागि प्रतिबद्धता, समाजमा रहेका विविधताको बुझाई र स्वीकृतिका लागि सोही अनुरुपको सोच र बिचार गर्दै बजारमा उपलब्ध उत्कृष्ट, अब्बल र मेघावी जनशक्तिलाई राज्यको विभिन्न संगठनमा आकर्षित गर्ने पद्धतिको विकास गर्ने
2. सार्वजनिक निकायको लागि कस्तो प्रकारको जनशक्ति आवश्यक परेको हो सोको पहिचान गरी सोही बमोजिम क्षमता, योग्यता र दक्षता भएको जनशक्तिलाई विभिन्न पद्धति, विधि र तरीका प्रयोग गरी विज्ञहरूबाट कर्मचारीको छनोट र नियुक्ति गर्ने प्रणालीको विकास गर्ने 
3. निश्चित प्रक्रिया पश्चात् सम्बन्धित संगठनको कार्यप्रकृति अनुरुप कर्मचारीको व्यावसायिकता उपयोग गर्न र विद्यमान अवस्थामा सुधार गर्न सकिने सम्भावित जनशक्तिको छनोट गर्ने प्रक्रियामा सम्बन्धित मन्त्रालय, विभागीय प्रमुख र विज्ञसमेतका समिति बनाई उक्त टोलीबाट छनोट गर्ने अथवा सम्बन्धित निकायको आवश्यकतानुसारको छनोट र योग्यताको मापदण्डको विकास गर्ने । उक्त समितिले प्रतिस्पर्धी, रणनीतिक र विश्लेषणात्मक सोचाई, नवप्रवर्तन, व्यवस्थापनको कार्यसम्पादन क्षमता, समूहमा काम गर्न सक्ने सीप, सञ्चारसीप, व्यवस्थापकीय जिम्मेवारी वहन गर्न सक्ने क्षमता, समस्या र कठिनाईको समयमा तनाव व्यवस्थापन, नेतृत्व आदि विषय परीक्षण गर्ने 
4.  विद्यमान अवस्थामा कर्मचारी प्रशासन अस्थिर रहने व्यवस्थामा परिवर्तन गरी सम्बन्धित क्षेत्र र विषयमा दक्षतासहित काम गर्न तालिम आदिबाट व्यावसायिकता विकास गरी कार्यमा स्वतन्त्रता र स्थायित्व प्रदान गर्ने  
5.  व्यावसायिक र दक्षतापूर्ण काम गर्न सामान्य अवस्थाबाट पर जानु पर्ने हुन्छ यसरी काम गर्दा गल्ती वा राज्यलाई नोक्सान पनि पर्न सक्दछ तर यदि असल नियतले राज्य र संगठनको लागि काम गरेको भए यसमा हतोत्साही हैन उत्प्रेरणा दिई भविष्यमा राम्रो काम गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्दछ ताकि अहिले जस्तो विभिन्न निकायबाट हुन सक्ने कारवाहीको कारण कर्मचारीले जोखिम लिन नसक्ने अवस्था नहोस 
6. निजामती सेवाका विविध कार्यक्षेत्रको माग र आवश्यकतानुसार कर्मचारीको व्यावसायिकता विकासका कार्यक्रम सञ्चालन गरी कर्मचारीलाई सरुवा र पदस्थापन गर्ने साथै व्यावसायिकतालाई कर्मचारीको वृति विकाससंग आबद्ध गराउने 
7.  विश्वका विभिन्न मुलुकले निजामती सेवाभित्रका लागि अपनाएका व्यावसायिकताको पद्धति, नीति र रणनीतिका साथै मुलुकभित्र निजी क्षेत्रले प्रयोग गरेका राम्रा विधि र पद्धतिहरूलाई क्रमशः निजामती सेवामा पनि प्रयोग गर्दै जाने ्र विज्ञान र प्रविधिको विकास र जनताको मागलाई सहज र सरल किसिमबाट सम्बोधन गर्न पदसोपान स्वरूपमा भन्दा समूहमा आधारित जिम्मेवारी पद्धति अपनाउने, प्रशासनको पनि व्यावसायिक संरचना निर्माण गरी कर्मचारीको कार्यसम्पादनको नियमित अनुगमन मूल्याङ्कनको व्यवस्था गर्ने, राम्रो काम गर्नेलाई पुरस्कार, सङ्गठनात्मक सिकाइलाई जोड दिने, सिक्न सबैलाई उत्साहित गर्दै नियमित रूपमा आवश्यकता अनुसारको तालिम तथा अभिमुखीकरण गर्नुपर्ने देखिन्छ l

Leave a Comment